खासा नजिकैको केरुङ छ्यो तालको पानीको सतह एक मिटर घट्यो

सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो।

चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पु¥याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो ।

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भीडभाड हँुदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो ।

विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन् ।

पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुई÷तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।

पालिकाले पाँचखोपारी क्षेत्रबाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्वजस्तो मानिसको भीडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

पालिकामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३३ सङ्क्रमित छन् ।

Loading...