जनता समाजवादीले पायो आयोगबाट दर्ता प्रमाण पत्र

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको जसपाले झण्डै तीन महिनापछि प्रमाणपत्र पाएकाे हाे ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जसपाले प्रमाणपत्र पाएपछि एक विज्ञप्ति जारी गरेकाे छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार जारी गरिएकाे संयुक्त प्रेस विज्ञप्तिमा निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी निर्वाचन आयोगलाई धन्यवादका साथ आभार व्यक्त गर्दछौं । यस अवसरमा अग्रगामी परिर्वतनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजावदप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आवद्ध हुन आव्हान गर्दछौं ।’

Loading...