बाढीले प्रशारण लाइनको पोल ढलेपछि तीन जिल्लाको विद्युत अवरुद्ध

उदयपुर, २८ असार । केहीदिनदेखि परेकाे अविरल वर्षाले देशभर ठूलाे जनधनकाे क्षति भएकाे छ । वर्षाका कारण बढेकाे बाढीले प्रशारण लाइनकाे पाेल ढालेपछि प्रदेश १ अन्तर्गतका तीन जिल्लामा विद्युत अापूर्ती नै अवरुद्ध भएकाे छ ।

उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतकाे दुई वटा पोल ढालेपछि शनिबार दिउँसोदेखि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।

पूर्वी पहाडी क्षेत्रसहित देशभर पानी परिरहेकाले अझै बाढी अाउने खतरा रहेकाे बताइएकाे छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ ।

तीन जिल्लाका लागि बुइपाको सवस्टेशनमार्फत विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको छ । विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घनाजङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गरेको छ । पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधान गर्न कसैको ध्यान नगएकोमा उपभोक्ता आक्रोशित छन् ।

Loading...