विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

२०६६ साल बैशाख १७ गते बैठासहित चार जनाले फेटास्थित सामुदायिक माध्यमिक विद्यालयका शिक्षक प्रदिपकुमार तिमल्सिनालाई गोली हानी हत्या गरेको आरोप लागेको थियो। घटनामा तिलक भनिने नन्दु बैठा, अग्नि भनिने सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी समेतको संलग्नता रहेको बारा प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। बिहान करिव ११ः४५ बजेको समयमा विद्यालयबाट घर फर्किंदै गरेका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई उनीहरुको समूहले गोली हानी हत्या गरेको आरोप छ ।

आरोपितमध्ये एक सुनिल जैसवाल सात वर्षअघि पक्राउ परेका थिए । उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यसैगरी चार वर्षअघि विजय पटेल पक्राउ परेका थिए । उनी पनि अहिले पुर्पक्षका लागि थुनामा छन्। सो समूह मध्येका एक अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका व्यक्ति रामनारायण सहनी हुन्।

Loading...