मास्क नलगाएर हिड्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारको निर्देशन, एकै जिल्लामा १०२ पक्राउ

काठमाडौँ, २२ असार । मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न सरकारले प्रहरीलाइ परिपत्र गरेको छ । प्रहरीलाइ गृहमन्त्रालयले यस्तो परिपत्र पठाएको हो ।

परिपत्रमा मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । यस्तो पत्र देशभर लागु हुने जनाउँदै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र पठाएको छ। अटेर गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ । साथै अटेर गर्नेलाई नछाड्न पनि सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशन नमान्नेलाई संक्रामक रोग निवारण ऐन अनुसार कारबाही गरिने बताए।

आवश्यक मापदण्ड पालना गर्ने गरी लकडाउन खुकुलो पारिएको भए पनि सर्वसाधारणले मास्क नलगाएरै घर बाहिर निस्कने र अनावश्क भीडभाड गर्ने गरेको पाइएपछि त्यसलाई रोक्न मातहतका निकायलाई परिपत्र गरिएको अधिकारीले बताए।

यसैबीच सरकारको निर्देशन अनुसार प्रहरीले मास्क नलगाएर हिडेका १०२ जनालाइ आज पक्राउ गरेको छ । पक्राउ परेका सबै व्यक्ति बारा जिल्लाका मात्र छन् । अरु जिल्लाको खबर भने अहिलेसम्म प्राप्त भएको छैन ।

पक्राउ पर्नेमा बिना मास्क व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक र पैदल हिँडडुल गर्ने यात्रीहरू रहेका छन् । जिल्ला प्रशासन कार्यालयले त्यसरी पक्राउ परेका व्यक्तिलाइ एक सय रुपैयाँ जरिवाना गरेर छाड्ने जनाएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि बाहिर हिँडडुल गर्दा मास्क अनिवार्य प्रयोग गर्न भनिएको छ। तर अटेर गर्नेलाई पक्राउ गर्न थालिएको छ।

Loading...