काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग

काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।
मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब लाइ महानगरले आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिनुभयो ।

मेयर शाक्यले आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिनुभयो । ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सहयोग गर्न महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै हामी तपाईँहरुलाई थप सहयोग गर्न चाहन्छौँ । तपाईँहरुले पनि खेलकुदको माध्ययमबाट महानगरपालिका र समग्र देशको पहिचान बढाउने कुरामा निरन्तर ध्यान दिनुहोला ।’

प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि लाई रु तीन लाख र सीलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिनुभयो । ‘विगतका वर्षमा जस्तै यो वर्ष पनि हामीले ए, वि र सि डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनेका थियौँ । आज एलाई गर्यौँ । वि र सिलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्ने छौँ ।’
येसैगरि कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी ( श्रेष्ठ ) ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रसंषा गर्नुभयो । ‘डिभिजन क्लवहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्,’ शेर्पाले भन्नुभयो, ‘यसका लागि काठमााडौँ महानगरपालिकालाई विशेष धन्यवाद दिन चाहन्छु । अहिले काठमाडौँ उपत्यकामा बढेको घना बस्तीका कारण फुटवल मैदानहरु लोप हुँदै गएका छन् । यस्तो बेलामा हामीले खेल अभ्यासका लागि महानगरपालिकासँग सहकार्य अघि बढाउने कुरामा पनि छलफल गर्दै आएका छौँ ।’
उहाँले सुरुमा टुँडिखेललाई खेल अभ्यासका लागि प्रयोग गर्ने विषयमा छलफल भएको भन्दै पछि धरहरा निर्माणको काम अघि बढाउँदा त्यहाँका निर्माण सामाग्री राख्नु पर्ने भएकाले तत्कालका लागि व्यवस्थित गर्न सम्भव नभएको बताउनु भयो । ‘अहिले पनि महानगरपालिकाको सहकार्यमा खुला ठाउँहरुको खोजी गरी त्यहाँ खेल अभ्यासका लागि उपयुक्त स्थान बनाउने कुरामा छलफल भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले महानगरपालिकाबाट अझै धेरै आशा गरेका छौँ ।’

कार्यक्रममा सम्वोधन गर्दै मछिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंशाकारले पनि खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रसंषा गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खेल विकासमा सहयोग गर्ने परम्पराको थालनी भएको छ,’ उहाँले भन्नुभयो, ‘यो नेतृत्वले खेल क्षेत्रलाई बुझेको अनुभूति हामीले गरेका छौँ । फुटवल मात्रै होइन समग्र खेलकुदको क्षेत्रमा महानगरपालिकाले सहयोग गरेको हामीले बुझेका छौँ ।’

 

Loading...