दिल्लीबाट ६ नेपाली युवतीलाई नेपाल फर्काइयो

कपिलवस्तु । विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ । तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् ।

यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् । सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । लकडाउनमा दैनिकी चलाउन निकै समस्या भएका युवतीहरु बिचौलियाको फन्दामा गरेका घटनाले मानव बेचबिखनमा बिचौलिया सक्रिय भएको तथ्य बाहिरिएको हो ।

शान्ति पुनस्र्थापना गृहले भारतस्थित देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा ६ नेपाली युवतीहरुलाई नेपाल फर्काउन सफल भएको हो । देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा असार १९ गते शुक्रबार नेपाल ल्याई पुर्याइएको शान्ति पुनस्र्थापना गृहकी कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् ।

भारतको दिल्लीबाट शुक्रबार विहान युवतीहरु नेपालको कृष्णनगर आइपुगेको संयोजक पन्थीले बताइन् । उद्धार गरिएका युवतीहरुलाई शुक्रबार नै थप अनुसन्धानको लागि केन्द्रिय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहकी कपिलवस्तु संयोजक पन्थीले बताइन् ।

कुवेत र इरान निःशुल्क पठाइदिने प्रलोभनमा पारी गत ४ महिनाअघि ती युवतीहरुलाई बिचौलियाले भारतको दिल्ली पुर्याएको थियो । गत फागुन २९ गतेका दिन ती युवतीहरुलाई दुई बिचौलियाले सीमा कटाएका थिए ।

काठमाण्डौबाट पोखरा, बुटवल, कपिलवस्तु, दाङ हुँदैनेपालगञ्जको नाका हुदै भारतको दिल्ली पुर्याएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । बिचौलियाले दिल्लीस्थित बुरादी जोरदा भन्ने ठाउँमा नजरबन्द गरी राखेको क्षेत्रीय संयोजक भट्टराईले बताए ।

“विशेष सूचनाका आधारमा देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा ती युवतीहरुलाई नेपाल ल्याउन सफल भयौं”–भट्टराईले भने । उद्धार गरिएका युवतीहरु २६ वर्षदेखि ४१ वर्ष उमेर समूहका हुन् । उनीहरुमध्ये ४ जना मोरङ, एक झापा र एक पर्वतकी रहेको भट्टराईले जनाए ।

युवतीहरुलाई प्रलोभनमा पारी सीमा कटाउने एक महिला र एक पुरुष छन् । बिचौलियाहरुको खोजीकार्य भइरहेको क्षेत्रीय संयोजक भट्टराईले बताएका छन् ।

Loading...