केपी ओलीले नै मदन स्मृति दिवसका दिन एमाले नामको पार्टी दर्ता गर्न लगाएको खुलासा

काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रकाे विवाद फेरि उत्कर्षमा पुगेकाे छ । यही समयमा एउटा अर्काे खबरले नेकपाभित्र खैलाबैला भएकाे छ । त्याे खबर हाे नेकपा एमाले नामकाे पार्टी दर्ता गर्न निर्वाचन आयाेगमा परेकाे निवेदन । त्याे पनि मदन भण्डारीकाे स्मृति दिवसकै दिन यस्ताे निवेदन परेपछि नेकपाका सबै नेता कार्यकर्ता झस्किएका छन् ।

यस प्रकरणलाइ केही समय अघि विधेयक नै ल्याएर पार्टी फुटाउन खाेजिएकाे घटनासँग जाेडिएकाे छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टी फुटाउने नियतका साथ दल विभाजन सम्बन्धि विधेयक ल्याएका थिए । त्याे प्रयास असफल भएपछि ओलीले नै फेरि एमाले नामकाे पार्टी दर्ता गर्न लगाएकाे खुलासा भएकाे छ । याे दावी अरुले नगरेर नेकपाकै शिर्ष नेताहरुले गरेका हुन् ।

पार्टी स्थायी समितिकाे बैठकमै नेकपाका उपाध्यक्ष वामदेव गाैतमले ओलीले एमाले नामकाे दर्ता गर्न लगाएकाे अाफूसँग प्रमाण नै रहेकाे दावी गरे । उनले ओलीकै अगाडि याे कुरा खुलासा गरेका हुन् । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा जारी बैठकमा गौतमले ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बताएपछि सबै नेताहरु चकित भए । त्यसपछि धेरैले ओलीप्रति अाक्राेश पाेखे ।

बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।

बैठकमा अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताए । बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए ।

सबैले प्रश्न उठाएपछि ओलीले अर्काे रडाकाे बैठकमा फाले । उनले प्रचण्डतिर संकेत गर्दै ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ?’ भनेर प्रतिवाद गरे ।

स्राेतका अनुसार झापाकी सन्ध्या तिवारीकाे नामबाट नेकपा एमाले दर्ताको निवेदन निर्वाचन अायाेगमा परेकाे छ ।

Loading...