प्रचण्डसहित नेकपाका सबै शिर्ष नेताले मागे प्रम र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजिनामा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै शिर्ष नेताहरुले ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै केपी अाेलीलाइ दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गर्दै राजिनामा माग गरेका हुन् ।

ओलीले आइतबार भारत र नेपालकै नेताहरूले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका हुन् ।

नेकपाका एक नेताले भने- ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरूले आग्रह गर्नुभएको छ ।’ अरू स्थायी कमिटी सदस्यले पनि त्यही धारणा राखेको उनले बताए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर प्रचण्ड र ओलीले के-के भनेका थिए भन्ने उनले खुलाएनन् ।

एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको बताएका थिए।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले के भनेका थिए ? हेर्नुहोस जस्ताको त्यस्तै:

१. तपाई हामी सबैलाई थाहा छ जस्तो लाग्छ । तपाईहरुले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता/पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनिँदैछ । भारतका मिडियाहरु सुन्नुभएको होला । भारतका वौद्धिक बहसहरु सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ ।….

२. हामीले… हाम्रो जमीन फिर्ता ल्याउन खोज्यौं, अरुको जमीनमा दाबी गरेको होइन । अरुको जमीन अतिक्रमण, हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । तर, यहाँँ नेपालकै नेता लाग्या रछन् । बहस चल्या र छ । अहिले होइन, केपी ओलीलाई नहटाई हुँदैन ।….

३. पहिले यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो, त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब… भित्र–भित्रको कुरा हो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ । यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।

४. मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन । किनभने, भोलिपल्ट बर्खास्त हुन्छ ।

ओलीको उक्त अभिव्यक्तिपछि यदि प्रधानमन्त्रीलाई हटाउन लैनचाैरस्थित भारतीय दूतावास सक्रिय भएकै हो भने आफूलाई आँटिलो राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री ओलीले भाषण मात्रै ठोकेर दायित्व पूरा हुँदैन । सरकार ढाल्न सक्रिय हुने राजदूतलाई तुरुन्त सिंहदरबारमा बोलाएर स्पष्टीकरण सोध्नुपर्छ र स्पष्टीकरण सोधेर मात्र पुग्दैन । तल्कालै, २४ घण्टाभित्र नेपाल छाड्न आदेश दिनुपर्छ भन्नेसम्मका टिप्पणीहरु सुरु भएका छन्।

उसो त नेकपा सचिवालयबाट टरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट स्थायी कमिटीमा सरेको छ । दुई दिन स्थगित भएर मंगलबारदेखि पुनः शुरु हुने बैठकमा प्रचण्ड–माधव नेपाल पक्षले सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको पनि बताइएको छ ।

कार्यसूचीमा रहेको सरकार र पार्टीको कामको समीक्षामा प्रवेश गरेपछि स्थायी कमिटीको बहुमतले ओलीलाई पद त्याग्न दवाब दिने संकेत नेताहरुले गरेका छन् । प्रचण्ड र माधव नेपाल पक्ष मिलेपछि स्थायी कमिटीमा अर्का अध्यक्ष ओली अल्पमतमा छन् ।

नेकपा स्रोतका अनुसार सरकारको कामको समिक्षा हुँदा प्रधानमन्त्रीबाट हट्न र पार्टी कामको समीक्षा हुँदा अध्यक्षबाट हट्न ओलीलाई दबाव दिने तयारी अर्को पक्षको छ ।यसअघि सचिवालय बैठकबाटै ओलीलाई हटाउने प्रयास भएको थियो ।

तर, अन्तिम घडीमा वामदेव गौतमले ओलीलाई साथ दिएका कारण प्रधानमन्त्री हटाउने प्रस्ताव सम्भव भएको थिएन । त्यसबेला दुवै पक्षले संसदीय दलमा बहुमत जुटाउन सांसदहरुको हस्ताक्षरसमेत संकलन गरिसकेका थिए ।

तर, सचिवालय र संसदीय दलमा दुवै पक्षले बहुमत जुटाउन नसकेकै कारण त्यसबेला ओली हटाउने प्रयास असफल भएको थियो । प्रधानमन्त्री ओलीले त्यो परिघटनालाई ‘पार्टी फुटाउने बहुमतीय खेल’ को संज्ञा दिएका छन् । भने ओलीइत्तर पक्षले हसताक्षर संकलन गरेर प्रधानमन्त्रीले फार्टी फुटाउन खोजेको प्रत्यारोप लगाउँदै आएका छन् ।

अब जारी स्थायी कमिटी बैठकले नेकपाभित्रको अन्तरविरोध कसरी समाधान गर्ला ? अहिले नै अनुमान लगाउन सकिन्न । तर, दुबै समूहका नेताहरुका पछिल्ला अभिव्यक्तिले नेकपा ठूलै संकटमा पुगेको अनुमान लगाउन सकिन्छ ।

Loading...