लिपुलेक क्षेत्रका पिल्लर राखिएका क्षेत्रमा पुग्दै छाङरुका सशस्त्र प्रहरी

काठमाडौं, ९ असार । दार्चुलाकाे छाङरुमा राखिएकाे सशस्त्र प्रहरीकाे टाेली वाेर्डरमा गएर पिल्लरहरुकाे अनुगमन गर्न थालेकाे छ । साेही क्रममा छाङरुमा राखिएको बोर्डर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत-चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो ।

बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर सडक बनाएपछि जनस्तरबाट तीब्र विरोध भएको थियो । र, सरकारले छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो । त्यसयता पहिलो पटक १ नम्बर पिल्लरसम्म फौज पुगेको सशस्त्र प्रहरीका अधिकृतहरुको दाबी छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि बुधबार त्यस क्षेत्रको भ्रमण गरेका छन् ।

Loading...