परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् ।

अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा लामो सम्बोधन गरेका ट्रम्पले परीक्षण धेरै हुँदा अमेरिकामा संक्रमणका केसहरु धेरै थाहा भएकाे दावी गरे । सभामा मास्क नै नलगाएर उपस्थित भएका ट्रम्पकाे याे भनाइप्रति धेरैले आपत्ती जनाएका छन् ।

ट्रम्पको सभामा सहभागी हुन आएकाहरु भने ट्रम्पलाई जोगाउनका लागि आफ्नो स्वास्थ्यको पर्वाह नै नगरेको देखिएको थियो । स्थानीय अधिकारीका अनुसार सभा सुरु हुनु भन्दा केही पूर्व मात्रै आयोजक टिमका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर अधिकांश सहभागीहरु ट्रम्प जस्तै मास्क नलगाइ सहभागी भएका थिए ।

शनिबार बेलुका (नेपाली समय अनुसार आइतबार बिहान) ओक्लोहोमा सभा सुरु हुनु अघि ¥याली निकालिएकाे थियाे । र्याली र चुनावी सभामा भने ट्रम्पकाे टिमले दावि गरे वमाेजिम सहभागिता नभएकाे बताइएकाे छ।

सभा टल्सा स्थित ब्यांक अफ ओक्लोहोमा सेन्टरमा भएकाे थियाे । त्यहाँ १९ हजार व्यक्ति अट्ने क्षमता रहेकाे भए पनि ट्रम्पकाे टिमले भने साे सभामा सहभागी हुन १० लाख भन्दा बढीले टिकटका लागि आवेदन दिएको दाबी गरेका थिए । अमेरिकी सञ्चारमाध्यमले सभा भएको ब्यांक अफ ओक्लोहोमा सेन्टरका अधिकांश सिटहरु खाली नै देखिएकाे बताएका छन । सहभागी अधिक हुन सक्ने आंकलन गरी ट्रम्पले सेन्टर बाहिर खुला स्थानमा सम्बोधन गर्ने व्यवस्था गरिएको थियो । तर सहभागिता कम भएपछि सो योजना कार्यान्वयनमा आउन सकेन ।

कोरोना भाइरसको महामारी कायमै रहेका बेला सार्वजनिक स्थानमा हजारौँ मानिसको सहभागितामा चुनावी सभा गर्न लागिएको प्रति विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त भएको थियो । यस्ता सभाबाट संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य विज्ञ र स्थानीय अधिकारीले चासो व्यक्त गरेका थिए । सभा विरुद्ध अदालतमा मुद्दा पनि परेको थियो ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुने होडमा छन् । उनलाई डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चुनौति दिने छन् ।

Loading...