जनसंघर्ष र दवावबाट सरकार एक कदम अघि बढेको विप्लवको भनाई

काठमाडौं, ३२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिम्पियाधुरासहितको भूगोललाई नेपालको नक्सामा राख्ने प्रस्ताव सदनबाट पारित गर्नु देशको हितमा एक कदम भएको बताएको छ । सरकारका विरुद्ध निरन्तर संघर्षमा उत्रिएको सो पार्टीले जेठ ३१ गते प्रतिनिधि सभामा एकमतका साथ आफ्नो गुमेको भूगोल समेट्न संविधान संशोधन गर्ने कार्यलाई एक कदम सकारात्मक बताएको हो ।

उक्त पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’ साथै उनले विज्ञप्तिमा यो कार्य जनताको निरन्तरको संघर्ष र दवावबाट बाध्य भएर गरिएको उल्लेख गरेका छन् ।

महासचिव विप्लवले नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सुझाव दिएका छन् । उनले अगाडि भनेका छन्, ‘यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं ।’

महासचिव विप्लवले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन पनि आम नागरिकलाई अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छु ।’

हेर्नुहोस् विज्ञप्ति

Loading...