नक्सा बदल्ने प्रस्तावमा मत हाल्न अनुपस्थित हुने १२ सांसद को हुन् ? कहाँ हराए नेकपाकै ४ सांसद

काठमाडौं,३१ जेठ । नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित भएका छन्।

प्रतिनिधि सभा बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन शनिबार सर्वसम्मतिले पारित गरेको हो। मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्।

तर मत विभाजनका क्रममा १२ सांसद अनुपस्थित भएका हुन्। अनुपस्थित हुनेमा नेकपाका ४, राजपा र नेपाली कांग्रेसका समान ३–३ सांसद छन् भने समाजवादी पार्टीका २ सांसद छन्।

अनुपस्थित हुनेमा राजपाकी अमृतादेवी अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह, नेकपाका गोपालबहादुर बम (मुगु), हरिबोल गजुरेल (सिन्धुली), धनबहादुर बुढा (डाेल्पा) र शिवकुमार मण्डल, नेपाली कांग्रेसका नागेन्द्र कुमार राय, सूर्य बहादुर केसी र ज्ञानकुमारी छन्त्याल, समाजवादी पार्टीकी सरिता गिरी, सूर्य नारायण यादव रहेका छन्।

सभामुख अग्नि सापकोटाले मत विभाजनमा कुनै पनि मत प्रकट गरेनन्।

प्रतिनिधि सभामा अन्य ४ सांसद भने निलम्बित छन्। नेपाली कांग्रेसका विजय गच्छदार, मोहम्मद अफताब आलम, समाजवादी पार्टीका हरिनारायण चौधरी, राजपाका रेशम चौधरी निलम्बित छन्।

Loading...