एसईई परीक्षा नलिइने तर विद्यार्थीलाई प्रमाणपत्र दिन गरिनेछ यस्ता कार्य

काठमाडौं । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने राेक्ने निर्णय गरिएको हो ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर नतिजा सार्वजनिक हुने बताइएको छ ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल एसईई लिन सम्भव नभएको भन्दै विद्यार्थीको अध्ययन निरन्तरताका लागि बाधा अड्काउ फुकाउ अध्यादेश जारी गरेर यस पटक एसईई नलिने भनी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए। शिक्षा ऐन २०२८ को दफा ४ (ट) बमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

अब एसईईको हकमा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनसम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्डसमक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। शिक्षामन्त्री पोखरेलले कोभिडका कारण मुलुक लकडाउनमा रहेको, विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोगमा आइरहेको कारण आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी जानेमा सरकारले निर्णय लिएको बताए।

मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले दिएको प्रतिवेदनको सुझावका आधारमा शिक्षा मन्त्रालयले एसईई रोक्ने प्रस्ताव लगेको थियो। कोरोनाका कारण सरकारले चैत ११ यता लकडाउन गर्ने निर्णय गरेपछि त्यसबेला माध्यमिक शिक्षा परीक्षादेखि विश्वविद्यालयसम्मका परीक्षा स्थगन गरेको थियो। एसईईमा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए।

Loading...