लकडाउन खुकुलो बनाउन सरकारले गर्यो यस्ता निर्णय

काठमाडाैं । सरकारले लकडाउनलाई अाज बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ। झण्डै तीन महिनादेखि जारी लकडाउनलाइ खुकुलाे बनाउने बारे मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । सरकारले लकडाउन व्यवस्थित गर्ने तर जारी राख्ने निर्णय गरेकाे जनाएकाे छ ।

बुधबार बेलुका बसेको मन्त्रिपरिषदकाे बैठकले बिहीबारदेखि लागु हुनेगरी यस्ताे निर्णय गरेकाे हाे । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने बताइएको छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने तयारी सरकारले गरेकाे छ । तर विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । 

लकडाउनकाे माेडालिटीबारे मन्त्रिपरिषदमा अाएका सुझावसहित ठाेस याेजना बनाएर अाज सार्वजनिक गर्ने बताइएकाे छ । सरकारले मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरिएकाे बताइएकाे छ ।

सरकारले रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ। त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ। तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।

पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।

Loading...