लोकसेवा आयोगले सुरु गर्यो परीक्षा लिने प्रक्रिया

काठमाडौंं । लाेकसेवा अायाेगले परीक्षाका प्रक्रियाहरु सुरु गर्न थालेकाे छ । कोरोनाकाे संक्रमण जोखिमका कारण यसअघि पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरिएका थिए । स्थगित कार्यक्रमहरु आयोगले पुनः सुरु गर्न थालेको हाे ।

आयोगको सोमबार बसेको बैठकले स्थगित प्रक्रिया सुरु गर्ने निर्णय गरेकाे हाे । साेमवारकाे निर्णयबाट सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरिएको छ । सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेका थिए ।

प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ । यसैगरी नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ ।

नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण गरिएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

असार २८ गते भने आन्तरिक प्रतिस्पर्धातर्फ इन्जिनियरिङ सेवा सिभिल, जनरलको अन्तरवार्ता कार्यक्रम राखिएको छ । यसअघि लोक सेवा आयोगले कुनै पनि चरणको परीक्षा भएकालाई रद्द नगर्ने निर्णय गरेको थियो ।

Loading...