जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौँ ।  सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रीले बताए ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

 

Loading...