थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १६ देखि ६० वर्षका उमेरका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् । कपिलवस्तुकै विजयनगरका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु २६ देखि ५२ वर्षका छन् ।

सर्लाहीका १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४० वर्षका छन् । सिराहाका ११ र सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।धनुषाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ४२ वर्षका छन् । रौतहटका ६ र महात्तरीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् ।

दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । बगलाचुलीका २७ देखि ३८ वर्षका ४ जना र हापुरेका ३० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।संखुवासभामा दुई जना संक्रमित भेटिएका छन् । खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै झापाका ४५ वर्षीय पुरुष र ललिपतुरकी २३ वर्षीय महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

Loading...