ट्रम्पले फेरि गरे अर्को विवादित निर्णय, विश्व स्वास्थ्य संगठनसँग सबै नाता तोडेको घोषणा

काठमाडौं, १७ जेठ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्को विवादित घोषणा गरेका छन । उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका हुन् । ट्रम्प पछिल्लो समय डब्ल्यूएचओसँग निकै आक्रोशित बनेको देखिएको छ । उनले शुक्रबारको पत्रकार सम्मेलनमा डब्लूएचओमाथि आरोपको वर्षा नै गरे ।

पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओमाथि आरोप लगाउँदै डब्लुएचओकै कारण विश्वभर कोरोना भाइरस फैलिएको र ठूलो जनधनको क्षति भएको पनि दावी गरेका छन् । उनले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्लुएचओ असफल भएको पनि आरोप लगाएका छन् । उनले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप फेरि दोहो¥याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

ट्रम्पले यसअघि नै डब्ल्यूएचओलाइ अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

अमेरिकाले डब्ल्यूएचओमा केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्ल्यूएचओले नमानेको आरोप ट्रम्पले लगाए ।

चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन् ।

ट्रम्पको यो घोषणालाई धेरैले आश्चर्य मानेका छन् । पछिल्लो समय ट्रम्पले यस्ता निकै धेरै विवादास्पद निर्णय गर्दै र अभिव्यक्ति दिँदै आएका छन् । ट्रम्पको यो एकल घोषणाबारे डब्लूएचओ र संयुक्त राष्ट्र संघले कस्तो प्रतिक्रिया दिन्छन त्यो हेर्न बाँकी छ । ट्रम्पका अभिव्यक्तिले डब्लूएचओ लगायतका अन्तराष्टिय संस्थाहरुमाथि जसले पैसा बढी दिन्छ उसैको नियन्त्रण हुनुपर्छ भन्ने आसय प्रष्ट देखिन्छ । उनले पटक पटक डब्लूएचओलाई अमेरिकाले बढी आर्थिक सहयोग गर्ने गरेको तर अर्कैको नियन्त्रणमा रहने गरेको कुरा उल्लेख गर्दै आएका छन् ।

Loading...