कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, महामारी नयाँ चरणमा प्रवेश

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी नयाँ चरणमा प्रवेश गरेको छ ।

सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड–१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’

Loading...