लकडाउनमा पनि सरकारको विरोध गरेकोभन्दै प्रहरीले गर्यो राजधानीमा ठूलो संख्यामा गिरफ्तार

काठमाडौं, ३० बैशाख । लिपुलेकमा भारतले गरेको हस्तक्षेपका विरुद्ध विरोधमा उत्रेको भन्दै प्रहरीले मंगलबार राजधानीबाट ठूलो संख्यामा गिरफ्तार गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएकाहरुदेखि घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

सडकमा नारावाजीमा उत्रेकाहरुलाई मात्र होइन, घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेपछि धेरैले सरकारप्रति आक्रोेश व्यक्त गरेका छन् । प्रहरीले मंगलबार जनता समाजवादीका काठमाडौैं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापति नेता आङकाजी शेर्पा, रहर खड्का, अनिल थापा, चन्द्र महर्जन, ज्ञानु महर्जन, परिवर्तन भट्टराई, मनिष श्रेष्ठ, सुरज महर्जन लगायतलाई राजधानीका विभिन्न ठाउँबाट गिरफ्तार गरेको हो । उनीहरुमध्ये धेरैजना घरमै रहेका बेला समातिएको बताइएको छ ।

प्रहरीले भने उनीहरुले प्रदर्शनको तयारी गरिरहेका बेला गिरफ्तार गरेको जनाएको छ । काठमाडौंको असन चोकमा जम्मा भई ठूलो जुलुस निकाल्ने थाहा पाएपछि त्यसलाई रोक्न उनीहरुलाई गिरफ्तार गरिएको बुझिएको छ । प्रहरी स्रोतका अनुसार साँझ ६ बजे प्रदर्शनको समय तोकेर उनीहरुले सबैलाई खबर गरेका थिए । काठमाडौंको बाङ्गेमुढाबाट ठूलो विरोध प्रदर्शन गर्ने गरी तयारी भइरहेका बेला एक जना व्यक्तिलाई पहिले नै गिरफ्तार गरी सबैको सूचना लिएको थाहा भएको छ ।

प्रहरीले राजधानीको माइतीरबाट विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शनासहित ठूलो संख्यामा प्रदर्शनकारीहरुलाई पनि गिरफ्तार गरेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो, सरकार मुकदर्शक बनेको भन्दै उनीहरुले सडकमा नारावाजी गदैै गएका बेला प्रहरीले सबैलाई समातेर भ्यानमा हालेको थियो ।

एकातिर कोराना भाइरसको महामारीले देश आक्रान्त बन्दै जाँदा सडकमा विरोध प्रदर्शनका घटना पनि बढ्दै गएका छन् । कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् भने कतिले मोदीको फोटो अंंकित फुटबल बनाएर सडकमै खेल्ने गरेका छन् । त्यसैगरी सामाजिक सञ्जालमा समेत विरोध स्वरुप गो ब्याक इन्डिया भन्ने ह्याचट्याग ट्रेन्ड पनि चलाइएको छ ।

भारतले नेपालको पश्चिमी क्षेत्र लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक खनेर उदघाटन गरेपछि त्यसले नेपालको राजनीति तताएको छ । नेपालको भूमीमा नेपाललाई कुनै खबर नै नगरी भारतले सडक बनाएपछि त्यसले नेपालीको आक्रोश बढाएको छ । भारतले २००८ देखि नै सडक खन्न सुरु गरेको भए पनि सडकको ट्रयाक खोल्ने काम सकिएपछि मात्र यो कुरा बाहिर आएपछि यसले नेपाल सरकारप्रति पनि नागरिकले आक्रोश पोखेका छन् । आफ्नो भूमिमा अरु कुनै देशले मनपरी सडक बनाउने र सेनाको परेड खेलाउने काम गर्दा पनि सरकार चुपचाप बसेको भन्दै सरकारको विरोध भएको छ । नेपाल सरकारकै कारण भारतले यसरी निरन्तर हस्तक्षेप बढाउँदै गएको नागरिकको आरोप छ ।

Loading...