आजदेखि वजेट अधिवेशन, पत्रकारलाई कलम र डायरी समेत लिन लगाइयो रोक

काठमाडौं, २६ वैशाख । संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वजेट अधिवेशन समेत रहेको संसदको वर्षे अधिवेशन अपरान्ह ४ बजेदेखि सुरु हुने बताइएको छ । कोरोनाको सन्त्रासबीच सुरु हुन लागेको यस अधिवेशनमा पत्रकारहरुलाई प्रवेश पास दिइए पनि उनीहरुलाई कलम र कापी केही पनि लिन नदिने गरी बन्देज लगाइएको छ ।

यो अधिवेशनमा प्रतिनिधि सभा र राष्टिय सभाका सबै संसदहरु संयुक्त रुपमा सहभागी हुनेछन् । संयुक्त रुपमा हुने यस अधिवेशनका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

अधिवेशन सुरु हुन अघि सबै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । बिहीबार स्वाब संकलन गरिएको भए पनि त्यसको रिपोर्ट भने आइनसकेको संसद सचिवालयले जनाएको छ । बैठकमा सहभागी हुँदा सांसदहरुले कोरोना नभएको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ ।

कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ ।

Loading...