ननस्टप समाचार प्रभाव: सरकारी गाडीले काठमाडौं ओसारेका मान्छे सर्लाहीमै फर्काइयो

काठमाडौं, २५ बैशाख । बुधवार एक सरकारी गाडीले सर्लाहीबाट काठमाडौं ल्याएकाहरुलाई फिर्ता गरिएको छ । लकडाउनको उल्लंघन गर्दै प्रदेश २ को सामाजिक विकास मन्त्रालयको एक गाडीमा सर्लाहीबाट काठमाडौं ल्याइएका ४ जनालाई उतै फिर्ता गरिएको हो ।

सर्लाहीको होरैता नगरपालिका २ निवासी ४ जना बुधवार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट काठमाडौं आएका थिए । उनीहरुले तराईमा संक्रमण बढेपछि काठमाडौं आएको बताएका थिए । यससम्बन्धमा ननस्टपखबरले समाचार प्रकाशन गरेको थियो । विभिन्न निकायलाई यसबारेमा ध्यानाकर्षण गराएर ननस्टपखबरले समाचार लेखेपछि उनीहरुलाई काठमाडौंबाट सर्लाहीमै फिर्ता गरिएको हो ।

सर्लाहीबाट काठमाडौं आएका उनीहरु शुरुमा काठमाडौं २३ वडा ओमबहाल पुगेका थिए । ओमबहालमा नातेदारको डेरामा बस्न आएका उनीहरुलाई त्यहाँका स्थानीयले उनीहरुको अवस्थाबारे आशंका गरेर बस्न नदिने भन्दै विरोधमा उत्रिएका थिए । स्थानीयवासीले उनीहरुलाई ल्याउने सरकारी गाडीका चालकलाई सोधपुछ गरेर उनीहरुको ठेगाना पत्ता लगाएका थिए । स्थानीयवासीसँग गाडीका चालयकले उक्त गाडी संघीय मामिला मन्त्रालय २ नं प्रदेशको भएको बताएका थिए । उनीहरु काठमाडौंमा कवाडी व्यवसाय गरिरहेका एक व्यक्तिका आफन्त भएको पनि खुलेको छ । कवाडी व्यवसाय गर्दै आएका व्यक्तिहरु कसरी सरकारी गाडी चढेर काठमाडौं आए भन्दै स्थानीयले आश्चर्य मानि सोधपुछ गरेका थिए । त्यसको जानकारी स्थानीयवासीले प्रहरी र वडाअध्यक्षलाई खबर गरेका थिए । त्यसैगरी मच्छेन्द्र क्लव आवद्ध युवाहरु र वटु टोलका स्थानीयवासी पनि यसरी लकडाउनको समयमा सरकारी गाडीले तराईबाट मान्छे ओसारेको भन्दै विरोधमा उत्रिएका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि लगेको थियो ।

बुधवार नै उनीहरुको कोरोना परिक्षण गरिएको थियो । आरडिटी परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आए पनि पीसीआर विधिबाट गरिने परिक्षणको रिपोर्ट भने आइसकेको छैन । सरकारी गाडीले नै लकडाउनको उल्लंघन गरेर संक्रमणको खतरा रहेका क्षेत्रबाट काठमाडौंमा मान्छे ओसार्नु गम्भीर गल्ती भएको भन्दै विभिन्न व्यक्तिले विरोध समेत गरेका थिए ।

पछिल्लो समय तराईका केही जिल्लामा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । त्यसकै कारण तराईका विभिन्न जिल्लाबाट मानिसहरु रातारात काठमाडौं आउने क्रम बढेको छ । सरकारले लकडाउनको घोषणा गरेर मानिसहरु जो जहाँ छन, त्यही बस्न भने पनि आवत जावत रोकिएको छैन । जसका कारण कोरोनाको संक्रमण बढिरहेको छ । नेपालगञ्जमा भारतबाट आएका एक व्यक्ति क्वारेन्टाइनस्थलबाटै भागेर जाँदा समुदायमा धेरै संख्यामा कोरोना फैलिएको थियो । त्यसैगरी अहिले कोरोनाको हटस्पट मानिएका उदयपुर र विरगञ्जमा पनि त्यसैगरी बाहिरबाट लुकिछिपी आएका व्यक्तिहरुले कोरोना भाइरस सारेको थाहा भएको छ ।

त्यसको ख्याल नगरी तराईका जिल्लाबाट रातारात ठूलो संख्यामा बसमै चढेर मान्छेहरु काठमाडौं आउने गरेको हल्ला पनि चलेको छ । त्यतिमात्र नभई सरकारी गाडीले नै यसरी मान्छे ओसार्ने गरेको भेटिएपछि यसप्रति काठमाडौंवासीले आपत्ती जनाएका छन् । केही समय अघि राजधानीबाट हिडेरै ठूलो संख्यामा मानिसहरु जिल्लाजिल्लामा फर्कने गरेका थिए । त्यसका कारण गाउँमा पनि कोरोनाको संक्रमणको खतरा हुने ठानिएको थियो । सुदूरपश्चिमको कैलालीमा पनि भारतबाट आएका एक व्यक्तिबाट स्थानीयमा कोरोना सरेपछि भाइरसको दोस्रो चरणमा गएको मानिएको थियो । अहिलेसम्म राजधानीमा ठूलो संख्यामा कोरोना संक्रमण नभएको भए पनि यस्तै कारणले संक्रमण ह्वात्तै बढ्न सक्ने ठानिएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बुधवार तराईबाट काठमाडौंमा मान्छे ओसार्ने गाडी र त्यसका चालकमाथि कारवाही गर्न माग गर्दै लकडाउनका बेला यस्ता गतिविधि कडाइका साथ रोक्नुपर्ने बताएकी थिइन । त्यसैगरी काठमाडौं ओहवहाल र वटु टोलमा आइपुगेका ती व्यक्तिहरुलाई जाँच गरिनुपर्ने भन्दै मछिन्द्र क्लबका अध्यक्ष र्सिजनमान श्रेष्ठ र २३ वडाका वडाअध्यक्ष मचाराजा महर्जनले पनि यसको कडा विरोध गरेका थिए ।

उनीहरु सबैले लकडाउन गर्ने तर यसरी लापरवाही गर्दा एकातिर अर्थतन्त्रमा ठूलो असर पर्ने, अर्कोतिर भाइरसको संक्रमण पनि फैलिइ छाड्ने बताएका थिए । त्यसैले लकडाउन पूर्णःरुपमा कडाईपूर्वक लागु हुनुपर्ने र परिक्षण व्यापक रुपमा गरेर भाइरस संक्रमणको अवस्था पत्ता लगाइ लकडाउन खोल्नुपर्ने पनि उनीहरुले माग गरेका थिए ।

Loading...