स्पीड बोटमा देशमा घुसपैठ गर्न खोज्ने ८ जना मारिएको भेनेजुएलाको दाबी

एजेन्सी । भेनेजुएला सरकारले आइतबार छिमेकी राष्ट्र कोलम्बियाबाट स्पीडबोटमा आफ्नो मुलुकमा हुन लागेको समुन्द्री घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ। तर विपक्षी नेताहरूले भने यसलाई बनावटी घटना भन्दै खारेज गरेका छन्।

राष्ट्रपति निकोलस मादुरोले बारम्बार राजनीतिक विरोधीहरूले आफूलाई वाशिङ्टनको आडमा सत्ताच्यूत गर्न लागेको आरोप लगाउने गरेका छन्। सत्तामा रहेको सोशलिस्ट पार्टीका आलोचकहरू भने ती आरोपहरू सरकारको विरोधीहरूलाई पक्राउ गर्ने बाहाना मात्रै भएको भन्दै खारेज गरेका छन्।

गृहमन्त्री नेस्टर रेभेरोलका अनुसार उक्त आतंकवादी समूह आइतबार बिहानै राजधानी काराकासबाट ३२ किलोमिटर टाढा ला गुआइराको तटमा ओर्लिएको थियो।

‘कोलम्बियाबाट भाडामा आएका आतंकवादी समूहले समुद्र मार्फत आक्रमण गर्ने कोसिस गरेका थिए। उनीहरू देशमा क्रान्तिकारी सरकारका नेताहरूको हत्या गर्दे आतंक मचाउन चाहन्थे’, रेभेरोलले भने।

विपक्षी नेता जुआन गुइदोले भने यसलाई हालै भनेजुएलाको जेलमा शुक्रवार भएको दंगा र शनिबार राती काराकसमा भएको हिंसात्मक घटनाहरुबाट ध्यान हटाउने सरकारको बाहानामा भएको प्रतिक्रिया दिएका छन्।

समाजवादी पार्टीका नेता डायोस्दाडो काबेलोले आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको र दुई जनालाई पक्राउ गरेको बताएका छन्। रक्षामन्त्री भ्लादिमीर पाद्रिनोले घटनामा एक स्पीडबोट पानीमै डुबेको जनाएका छन्। सेनाले त्यस स्पीडबोटबाट बाँचेकाहरूको खोजी गरिरहेका उनले बताए।

कोलम्बियाको विदेश मन्त्रालयले मादुरो सरकारको आरोप ‘निराधार’ भएको भन्दै खण्डन गरेको छ। घटनाका बारेमा विज्ञप्ति जारी गर्दै कोलम्बियाको विदेश मन्त्रालयले यसलाई भेनेजुएलाका नागरिकहरूले भोगिरहेको समस्याबाट ध्यान हटाउने भेनेजुएला सरकारको प्रयास भनेको छ।

मादुरोमाथि देशमा ६ वर्ष देखि देशमा जारी आर्थिक संकटका कारण त्यहाँका नागरिकहरुको खाद्यान्न र औषधि जस्ता आधारभूत सेवा लिन नसकेको अवस्थालाई वेवास्ता गर्दै आएको आरोप छ। उनको वेवास्ताका कारण झन्डै ५० लाख मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइन्छ।

अमेरिका लगायतका अन्य दर्जन मुलुकले सन् २०१८ मा भएको विवादास्पद चुनावलाई अस्वीकार गर्दै आएका छन्। उनीहरूले मादुरोको सरकारको सट्टा गुवाइदोलाई कार्यकारीको मान्यता दिएका छन्।

मादुरोमाथि भने चीन र रसियासहित देशकै सशस्त्र बलको समर्थन रहेको छ।

Loading...