नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे ।

मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा ६० वर्षीय व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिक रहेको अन्सारी मस्जिद जाने गरेका थिए । साथै उनले मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न पनि सिकाउने गरेका थिए ।

लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका ती व्यक्ति भारततिर आउ-जाउ गरिरहने गरेकाे पनि पत्ता लागेकाे थियाे । लकडाउनपछि सीमा बन्द भएपछि नेपालगञ्जकाे जमुनाह नाकामा केही दिन थुनिएका करिव ६ सय मानिसहरुकाे हुलमा उनी पनि रहेकाे पनि थाहा भएकाे थियाे । जमुनाह नाकामा क्वारेन्टीनमा राखिएका मध्ये अाधाभन्दा बढी व्यक्तिहरु त्यहाँ खाने र बस्ने व्यवस्था राम्राे नभएकाे भन्दै भागेका थिए । अहिले त्यही हुलमा रहेका एक व्यक्तिमा काेराेना संक्रमण पत्ता लागेपछि अरुमा पनि संक्रमण फैलिएकाे हुनसक्ने अाशंका गरिएकाे छ । तर उनमा कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता लागिसकेको छैन ।

अजानमा काेराेना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरेर भेरी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो ।

आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार कोभिड संक्रमण पुष्टि भएकामध्ये ८ पुरुष र ७ महिला छन् । उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् । थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको छ ।

Loading...