ट्रम्पले भने, “सी जिनपिङको असाधारण उचाइ”

काठमाडाैं, कार्तिक ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकालमा वासिङ्टन–बेइजिङ सम्बन्ध थप सुदृढ हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले महाधिवेशनमार्फत शक्ति संगठित गरेर ‘असाधारण उचाइ’ प्राप्त गरेको बताएका छन् । महाधिवेशनपछि सी पुनः महासचिवमा निर्वाचित भएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले सो टिप्पणी गरेका हुन् । अर्को कार्यकालका लागि निर्वाचित भएकोमा ट्रम्पले चिनियाँ समकक्षीलाई बधाईसमेत दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङमा बिहीबार सम्पन्न १९औँ महाधिवेशनले सीलाई पुनः अर्काे पाँच वर्षका लागि महासचिवमा निर्वाचित गरेको थियो ।

ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुने

चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ । चिनियाँ समकक्षीको निमन्त्रणामा आगामी अक्टोबरमा अमेरिकी राष्ट्रपतिले ट्रम्प चीन भ्रमण गर्दै छन् । भेटावार्तामा उत्तर कोरिया, साझा व्यापारलगायतका विषयमा छलफल हुनेछ । उनीहरूबीच गत जुलाईमा औद्योगिक राष्ट्रहरूको समूह जी २० को सम्मेलनमा भेट भएको थियो । बिहीबारको फोनवार्तामा दुई नेताबीच व्यापार र उत्तर कोरियाका बारेमा छलफल भएको राष्ट्रपति ट्रम्पले ट्विटमार्फत जानकारी दिएका छन् ।

चीन–अमेरिका सम्बन्ध सुदृढ गर्न इच्छुक

बिहीबारको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्र«पति सी जिनपिङले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सीले अमेरिकी राष्ट्रपतिसँग भविष्यमा चीन–अमेरिका सम्बन्धको विकासबारे संयुक्त रूपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्न आफू इच्छुक रहेको बताएका थिए ।

शक्तिशाली सी

अधिवेशनपछि राष्ट्रपति सी झनै शक्तिशाली भएको ट्रम्पले संकेत गरेका छन् । राष्ट्रपति सीलाई पार्टीको विधानमा माओसरहको स्थान दिइएको छ । अधिवेशनले पार्टी विधान संशोधन गर्दै राष्ट्रपति सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको आदर्श’ भन्ने नारा समावेश गरेको छ । परम्परालाई तोड्दै राष्ट्रपति सी जिनपिङले प्रस्ट उत्तराधिकारी उल्लेख नगरी नयाँ नेतृत्वपंक्ति गठन गरेका छन् । उत्तराधिकारी प्रस्ट चयन नगरेसँगै आगामी पाँच वर्ष र सम्भवतः त्यसभन्दा बढी अवधिसम्म सीले चीनमा बलियो पकड कायमै राख्ने संकेत गरेका छन् । चीनको संविधानमा राष्ट्रपति सीको नाम र उनका सिद्धान्तहरूसमेत उल्लेख छ ।

सी राजा होइनन्, राष्ट्रपति हुन्

एक प्रसंगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ शक्तिशाली नेता भएको बताएका छन् । अमेरिकी फक्स बिजनेस न्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘सी निकै असल तर शक्तिशाली नेता हुन्, केही मानिसले सीलाई चीनको राजा नै भन्छन्, तर उनी त्यहाँका राष्ट्रपति हुन् ।’ आफूहरूबीच सुमधुर सम्बन्ध रहेको पनि ट्रम्पले बताए । ‘हामीबीच धेरै राम्रो सम्बन्ध छ, जुन सकारात्मक पक्ष हो । रसिया र अन्य मुलुकसँग पनि अमेरिकाको यस्तै राम्रो सम्बन्ध हुनुपर्छ,’ उनले भने । यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले पनि राष्ट्रपति सीलाई बधाई सन्देश पठाएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ । नयाँ पत्रिकाबाट

Loading...