आज ठूलो हावाहुरीसहित वर्षा हुने, सजग रहन मौसमविदको चेतावनी

काठमाडाैं । आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आज शुक्रबार दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जानकारी दिएकी हुन।

‘यसमा पनि पहाडमा भन्दा मध्य र पूर्वका तराईमा हिजो/अस्तिको तुलनामा अलि शक्तिशाली खालकै हावाहुरीसहित वर्षा हुने देखिएको छ,’ मौसमविद् कँडेलले भनिन्, ‘मेघगर्जन/चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।’ उनका अनुसार आज खासगरी भैरहवापूर्व यस्तो खालको मौसम बदली हुने देखिएको हो।

माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: मध्य र पूर्वी भू-भागका धेरै र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

‘अहिले बिहान मौसम सामान्य रहे पनि दिउँसो १/२ बजेपछि बदली हुनेछ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘थप अध्ययन गरेर हामी दिउँसो ३ बजेतिर सतर्कताका लागि विशेष बुलेटिन प्रकाशन गर्छाैं होला।’

पहाडी भेगअन्तर्गत आज काठमाडौं पनि हावाहुरी/चट्याङसहित असिना पानी पर्ने सम्भावना छ। तर तराईको तुलनामा पहाडी क्षेत्रमा अलि कमजोर खालको हावाहुरी/वर्षाको सम्भावना रहेको उनले बताइन्।

स्थानीय वायु र पश्चिमी वायु मिसिनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत आइरहेकाले मौसम बदली गराउने प्रणाली शक्तिशाली बनेको मौसमविद्को भनाइ छ। ‘अहिले तल्लो सतहमा रहेको वायु र माथिल्लो तहमा रहेको वायुसँग मिल्न पुगेको छ,’ मौसमविद् कँडेलले भनिन्, ‘यस्तो हुँदा सिस्टम शक्तिशाली बन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मौसमको अवस्था आगामी आइतबारसम्मै यस्तै रहने देखिएको छ।

Loading...