भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना

दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो ।

कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने भएकाले भक्तपुर अस्पतालले यो कोरियन प्रविधि भित्राएको अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए । सम्भावित संक्रमितको भिटिएम टेस्टका लागि नाक र घाँंटीबाट र्याल निकाल्ने प्रयोजनका लागि यो बुथ प्रयोग गरिने अध्यक्ष सुवालले जानकारी दिए । ”कोभिड १९ विरुद्ध हामी स्वास्थ्यकर्मीको नेतृत्वमा लडाई लडिरहेका छौं । हाम्रा स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु हाम्रो पहिलो काम भएकोले उहाँहरुको लागि यो बुथ ल्याएका हौँ ।” उनले भने ।

अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमका अनुसार चिकित्सकले बुथभित्र बसेर सम्भावित संक्रमितको नाक र घाँंटीबाट र्याल निकाल्दा कोरोना रोग सर्ने सम्भावना हुँदैन । यसले चिकित्सकलाई कोरोना संक्रमित पहिचान गर्न थप आँट प्राप्त हुने र उनीहरुमा थप आत्मविश्वास पैदा हुने विश्वास लिइएको छ । र्याल निकाल्दा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्नेगरी यसको आविस्कार भएको छ ।

अझ उल्लेखनीय कुरा यो छ कि यो बुथ काठमाडौं बिल्डर्स प्रालि, भक्तपुरले बनाएको हो । समाजसेवीको रुपमा रहेका डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि, भक्तपुरले वनाएको जानकारी प्राप्त भएको छ । सोमबार मात्र महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा यो बुथ हस्तान्तरण गरेको काठमाडौं बिल्डर्स प्रालि, भक्तपुरले मंगलवार भक्तपुर अस्पताललाई हस्तान्तरण गरेको हो । यससंगै पीपी बुथ राख्ने भक्तपुर अस्पताल नेपालमै दोश्रो भएको छ ।

भक्तपुर अस्पतालले हालसम्म ७४ व्यक्तिको स्वाब लिएर परीक्षणको लागि टेकु पठाइसकेको छ । जसमा ६० रिपोर्ट आइसकेका छन् र भाग्यवश ती सबै रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । अब भक्तपुर अस्पतालले भक्तपुर जिल्लामा चैतभित्र विदेशबाट आएर बसिरहेकाहरु सबैको स्वाब संकलन गर्ने बताइएको छ । भक्तपुर अस्पताल बागमती प्रदेश सरकार मातहत संचालित अस्पताल हो ।

Loading...