अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, एकै दिन चार जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ।

शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन्। सबै न्युयोर्कमा बस्दै आएका थिए। निधन भएका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिए।

अहिलेसम्म नेपालीमूलका करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । तर, यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

Loading...