जहाजबाट शनिबार ३ सय २८ क्वीन्टल खाद्यान्न हुम्ला लगियो

सिमकोट । हुम्लामा शनिबार मात्र हवाई मार्गबाट ३२८ क्वीन्टल खाद्यान्न ढुवानी भएको छ।

नेपालगंज र सुर्खेतबाट निजी एयरलाइन्सहरुले २१ वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका बिष्णु प्रसाद अधिकारीले बताए। उनका अनुसार हावा नचलेको भए यो संख्या अझै बढ्ने थियो। जसमा तारा एयरले सात उडान, समिट एयरले ६ उडान र सीता एयरले आठ उडानबाट खाद्यान्न ढुवानी गरेका हुन्।

खाद्यान्न समस्या हुने जिल्लाको मागलाई मध्यनजर गर्दै सरकारले लकडाउन जारी रहेको बेला हवाई यातायात सञ्चालन गर्न अनुमति दिएपछि नेपालगंज र सुर्खेतबाट निजी एयरलाईन्सहरुले खाद्यान्न ढुवानी गरेका हुन्।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिलिटेड सिमकोट शाखाका निमित्त प्रमुख शिवराज घिमिरेले बुधबार दिउँसोबाट खाद्यान्न ढुवानी गर्न सुरु भएयता ८६७ क्वीन्टल ३० केजी खाद्यान्न जिल्ला भित्रिएको बताए।

सीता, समिट र तारा एयरका ६ वटा जहाजहरुले हरेक दिन खाद्यान्न ढुवानी गर्ने क्रम बढेको छ। हाललाई हवाई मार्गबाट २ हजार क्वीन्टल खाद्यान्न ढुवानी हुनेछ।

लकडाउन सुरु भएपछि खाद्यान्न ढुवानी गर्ने कार्य रोकिँदा लिमिटेडको गोदाममा खाद्यान्न मौज्दात न्यून हुँदा जिल्लाबाट सरकारलाई खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग भएको थियो।

Loading...