शिवराजले नगरभित्रका १६ सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने

शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले राहत वितरणका लागि मापदण्ड बनाएको छ । पहिलो चरणमा प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नून, १ लिटर तेल र एउटा लाइफब्वाय साबुन उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । सोही अनुसार राहत सामग्री खरीत तथा वितरण समितिलाई सामग्री खरीदका लागि जिम्मेवारी समेत दिइसकिएको बताइएको छ ।

साथै नगरको मापदण्ड बमोजिम ५सयदेखि एक हजार घरधुरीसम्म हुने वडाका एक सय विपन्न घरले राहत पाउनेछन् । एक हजारदेखि १५सय घरधुरी हुने वडाका एक सय घरले र १५सयभन्दा माथि घरधुरी हुने वडाका २सय विपन्न घरले राहत पाउनेछन् । सोही मापदण्ड अनुसार शिवराजमा कूल १६सय विपन्न श्रमिक तथा असहायले राहत पाउने देखिन्छ ।

Loading...