राहतका लागि नामावली संकलन गर्ने क्रममा दुई पक्षबीच कुटाकुट

वीरगञ्ज । देशभर घोषणा गरिएको लकडाउनका कारण समस्यामा परेका कारण विपन्न परिवारलाई राहत वितरण गर्नको लागि नामावली संकलन गर्दा बुधबार वीरगञ्जमा दुई पक्षबीच कुटाकुट भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित बरेवा टोलमा राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले जानकारी दिए। दुई पक्षबीच भएको कुटाकुटमा महिला बालबालिकासहित १९ जना घाइते भएको तिवारीले बताए। घाइतेलाई भएकाहरुलाई नारायणी अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए।

लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वडामा राहत वितरण गर्नको लागि नाम संकलन गर्न सर्वपक्षिय बैठकलबाट समिति बनाइएको थियो। उक्त समितिले वडामा भएको केहुनिया र बरवा गाउँमा लकडाउनका कारण समस्यामा परेकाहरुको नामावली सकलन गरेर राहतको लागि सिफरिस गर्नेछ।

वडामा दुईवटा गाउँ भएकोले छुटाछुटै दुई वटा समिति पनि बनाइएको थियो। सोही समितिका पदाधिकारीहरु बुधबार नामावली संकलन गर्न गाउँमा पुगेका थिए। तर नाम संकलन गर्दागर्दै अचानक दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष तिवारीको भनाइ छ।

वीरगञ्ज महानगरपालिकाले मंगलबार बोर्ड बैठकबाट निर्णय गरेर लकडाउनबाट प्रभावित महानगरका गरिब तथा अति विपन्नहरुलाई राहत वितरण गर्ने निर्णग गरेको थियो। महानगरमा रहेका ३२ वटै वडामा रहेका विपन्न परिवारलाई राहत वितरण गर्न महानगरपालिकाले एक करोड बजेट छुटयाएको वीरगञ्ज महानरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए।

उनले राहत वितरण गर्नको लागि नाम संकलन गर्न जाँदा कुटाकुट हुनु दुःखद भएको बताए। घटनामा संलग्नलाई कारबाही गरिने उनले बताए।

Loading...