दिल्लीको एक धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ जना नेपाली पनि भेटिए

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना नेपालबाट पनि सहभागी भएको थाहा भएको छ । दिल्ली सरकारले धार्मिक कार्यक्रमस्थलबाट एक हजारभन्दा बढी मानिसहरुलाई विशेष बसहरुबाट उद्धार गरिएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले देशभर लकडाउन घोषणा गरिएको र आपतकालिन अवस्था जारी भएको अवस्थामा त्यस खालको धार्मिक कार्यक्रम गर्नु गलत रहेको बताएका छन् । कार्यक्रममा १५०० देखि १७०० मानिसहरु सहभागी रहेको खुलेको छ । मन्त्री सतेन्द्र जैनले ३३४ जनालाई अस्पताल पुर्याइएको र ७०० बढीलाई क्वारेन्टाइनमा पठाइएको जानकारी दिएका छन् । कार्यक्रमस्थलमा स्वास्थ्यकर्मीहरुको एक विशेष टोलीलाई पठाएर सबै मानिसहरुलाई बाहिर निकालिएको बताइएको छ ।

धार्मिक कार्यक्रममा सहभागी भएका ६३ वर्षीय एक व्यक्तिको मृत्यु भएपछि दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकज कार्यक्रमका बारेमा खुलासा भएको थियो । मृत्यु भएका ती व्यक्तिको नमूना परिक्षणमा कोरोना पोजिटिभ भेटिएपछि सबै आत्तिएका थिए । त्यसपछि त्यहाँबाट थप ३३ जनालाई अस्पताल लगिएको थियो र उनीहरुमध्ये केहीमा कोरोना पोजिटिभ देखिएको थियो ।

स्वास्थ्यमन्त्री जैनका अनुसार १५ देशबाट उक्त कार्यक्रममा मानिसहरु सहभागी भएका थिए । त्यसमा सबैभन्दा बढी भारतको तमिलनाडु राज्यबाट सहभागी भएका थिए । भारतकै जम्मु काश्मिर, अन्डमान निकोमानबाट पनि ठूलो संख्यामा मानिसहरु आएका थिए । त्यसैगरी इन्डोनेशिया, मलेसिया, श्रीलंका, नेपाल लगायतका देशबाट पनि ठूलो सहभागिता रहेको थियो । यो सभा मार्च १५ देखि २१ गतेसम्मको थियो ।

Loading...