भारत र नेपाल दुबैतिर लकडाउन भएपछि वीरगञ्ज नाकामा सयाै अलपत्र

वीरगञ्ज । नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका सयौँ भारतीय नागरिकहरु वीरगञ्ज–रक्सौल नाकामा अलपत्र परेका छन्। देशभर लकडाउनको घोषणा भएपछि उनीहरु नेपालका विभिन्न ठाउँबाट भारतस्थित आफनो घर फर्किन लागेका थिए।

यतिबेला भारतमा पनि लकडाउन भएका कारण उनीहरु भारत छिर्न नपाएका हुन्। लकडाउनको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीहरुले भारत छिर्न नदिएपछि उनीहरु सीमा नाकामै अलपत्र परेका छन्। नाकामा अलपत्र परेका भारतीयहरु विभिन्न सवारी साधन तथा कतिपय पैदल नै हिँडेर नेपालका विभिन्न ठाउँबाट आफनो घर फर्किन लागेका छन्।

लकडाउनका कारण आफूले गर्ने काम बन्द भएकोले र खाने सामानको पनि आभाव हुँदा घर फर्किन लागेको उदयपुरको डुम्रेमा राज मिस्त्रीको काम गर्दै आएका मुकेश पण्डितले बताए। उनले डुम्रेबाट बसमा आएको बताए।

‘डुम्रेमा राज मिस्त्रीको काम गर्दै आएको थिएँ। लकडाउनले काम बन्द भयो। खानपिन गर्न पैसा पनि सकियो’, पण्डितले भने, ‘त्यसैले भारतस्थित आफनो घर फर्किनको लागि आएको छु।’

यसैबीच वीरगञ्ज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले खानेकुरा वितरण गरेको छ। संघका पर्सा संयोजक महम्मद निजामुद्दिनको नेतृत्वमा गएको टोलीले अलपत्र परेकाहरुलाई खानेकुरा वितरण गरेको हो।

नेपाल फर्कन पनि नदिने र आफ्नो घर जान पनि आफ्नै सरकारले रोक लगाएपछि उनीहरुलाई अहिले खान, बस्न समस्या परेको छ।

Loading...