कोरोनाका कारण २ लाख अमेरिकीको मृत्यु हुने चेतावनीपछि ट्रम्प हैरान

काठमाडाै‌ं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् ।

सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । त्यसैले हामीले संक्रमण रोकथामका उपायहरु बढाउने तयारी गरेका छौँ ।’

राष्ट्रपति ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका उच्च अधिकारी डा. एन्थोनी फाउकीले यसअघि कोरोना भाइरसका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका थिए ।

डा. आउकीले दशौँ लाख अमेरिकी कोरोना भाइरसका कारण संक्रमति भएको र एकदेखि दुई लाखजनाको मृत्यु हुन सक्ने बताएका हुन् ।

अमेरिकामा अहिलेसम्म एक लाख ३९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण सबै भन्दा धेरैमा हुने देश अमेरिका हो ।

कोरोना भाइरस टास्क फोर्सको पछिल्लो पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने एक मात्र उपाय भनेको सामाजिक दूरी नै रहेको बताएका हुन् । आउँदो जुनसम्ममा कोरोना भाइरसको संक्रमणबाट अमेरिका बाहिर निस्कने उनले दाबी गरेका छन् ।

मार्च १६ मा इम्पेरियल कलेज लण्डनका वैज्ञानिकले प्रकाशित गरेको प्रतिवेदनमा सावधानी नअपनाइए अमेरिकामा २२ लाख मानिसको मृत्यु कोरोना भाइरसका कारण मृत्यु हुने उल्लेख भएपछि आफू सचेत बनेको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले इस्टर अर्थात अप्रिल १२ देखि देशका केही क्षेत्र खुला गर्ने बताएका थिए ।

Loading...