बाँकेको जमुनाहा नाका एक साताका लागि बन्द

काठमाडौं, ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए ।

खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए । ‘सामानहरु आउँछन् तर यात्रुहरु आउन–जान पाउँदैनन्,’ उनले भने । प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए ।आइतबारदेखि लागू हुने गरी १ साताका लागि नाका बन्द गरिएको प्रजिअ खड्काले बताए ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए ।यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

Loading...