कोभिड–१९ संक्रमतिको संख्या विश्वभर तीन लाख बढि, मर्नेको संख्या १२ हजार ९७३

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै १३ हजार पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा १२ हजार ९७३ जनाको मृत्यु भएको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ्ग (सिएसएसई), जोन हप्किन्स विश्वविद्यालयले जनाएको हो ।

चीन बाहिर १० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण हुने देशहरु इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्स हुन् । कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी हुने देश अहिलेसम्म चीन रहेको छ । तर यसका कारण इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा चार हजार ८२५ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिन भित्रमा विश्वमा कोरोना संक्रमितको संख्या एक लाखले बढेको हो । अहिलेसम्म १६० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Loading...