चितुवाले घिसार्दै तनहुँको जंगल लाँदै गर्दा इन्दिराले लडेर बचाइन छोरी

तनहुँ, ५ चैत । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् ।

शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पुर्‍याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाएकी हुन् । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक–एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिए ।

‘गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्’, न्यौपानेले भने ।

आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन् । ‘चितुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्याउँदै चितुवाको पछिपछि दौडिएँ । छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आक्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भागेको थियो’, उनले भनिन् ।

चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृत्यु भइसकेकाले गाउँमा चितुवाको त्रास बढेको इन्दिराले बताइन् ।

Loading...