(कोभिड–१९)संक्रमित र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल

चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।अस्पताल बनाउनका लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए ।

भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।विभिन्न अस्पताल तथा चेकपोष्टहरुमा आएका शंकास्पद बिरामी र संक्रमण पुष्टि भएका बिरामीलाई यही राखेर उपचार गरिने प्रजिअ भट्टराईले बताए । अस्पतालको बहिरंग सेवाको व्यवस्थापनको जिम्मा डा. भोजराज अधिकारी र डा. अनिलविक्रम कार्कीले लिनेछन् ।

जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य, एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेज र निजी अस्पताल समन्वय समिति, आईसीयूको चितवन मेडिकल कलेज, जनशक्तिको व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।

यस्तै अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ, जिल्ला समन्वय समितिले गर्ने सहमति भएको छ । अस्पतालका लागि क्यान्सर अस्पतालले २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराउने जनाइएको छ । आवासीय रुपमा नै चिकित्सक, नर्स, पारामेडिक्स र ल्याबका कर्मचारीलाई यहाँ राखिने डा. अनिलविक्रम कार्कीले जानकारी दिए । यहाँ आउने बिरामीलाई चार तहको स्वास्थ्य सेवा उपलब्ध गराइने डा. कार्कीको भनाइ छ ।

ल्याबको स्याम्पल काठमाडौं पठाउनुपर्ने अवस्था विद्यमान रहेकोले यही नै यस्तो ल्याब बनाउन आवश्यक पहल थालिएको डा. कार्कीले बताए । भरतपुर महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा कोरोना रोकथाम तथा पूर्वतयारी समिति गठन गरिएको छ । यो समितिले जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय गर्नेछ ।

Loading...