घुस लिएर भाग्दै गरेका वन प्रमुख गाडी र घुस रकमसहित गठ्ठाघरमा पक्राउ

काठमाडौं, २८ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ । एक सेवाग्राहीसँग घुस लिएर दोलखाबाट फरार भएको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो । उनको साथबाट २ लाख ४ हजार नगद समेत बरामद गरेको अख्तियारका एक अनुसन्धान अधिकृतले जानकारी दिए । आज बिहीबार साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको उनले जानकारी दिए ।

अख्तियारको टोलीले ६ बजे उनलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको सबै सामानको मुचुल्का समेत उठाएको थियो । उनलाई आजै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्ने टोलीले जनाएको छ ।

Loading...