विश्व मिर्गौला दिवस: ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’

दाङ, २९ फागुन । विश्व मिर्गौला दिवसको अवसरमा दाङको लमहीमा प्रभातफेरिको आयोजना गरिएको छ । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’ भन्ने मुल नाराका साथ मिर्गौला रोगबाट बच्न सचेतना फैलाउने उदेश्यले प्रभातफेरिको आयोजना गरिएको हो ।

पञ्चेबाजासहितको प्रभातफेरिले लमही बजारको परिक्रमा गरेको थियो । मिर्गौला रोग लाग्नु भन्दा लाग्नै नदिनु तर्फ ध्यान दिनुपर्ने डाक्टर गणेश चापागाईंले बताए । ‘मिर्गौलाको परीक्षण वर्षमा कम्तिमा दुई पटक गर्नुपर्छ । अहिलेसम्म देखिएका केसका आधारमा मिर्गौला आधा बिग्रिएपछि मात्रै बिरामी सम्पर्कमा आउने समस्या छ’, उनले भने, ‘मिर्गौलालाई सुरक्षित राख्न खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।’

खानपपानमा ध्यान नदिँदा मिर्गौला रोग लाग्ने भन्दै डाक्टर चापागाईंले सचेत हुन आग्रह गरे । दाङको लमहीमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना भएको छ । जसले गर्दा मिर्गौलाको परीक्षणसँगै डायलाइसिस सेवा प्राप्त हुँदा सेवाग्राहीले सहजता महशुस गरेका छन् ।

अहिले २५ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएका छन । रोटरी क्लव अफ लमही र सामुदायिक डायलाइसिस सेन्टरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

Loading...