स्वयंसेवक शिक्षकमा १२ हजार बढीको आवेदन, सर्टिफिकेटमा राम्रो नम्बर छ उसैलाई प्राथमिकता

काठमाडौं २५ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक वर्षका लागि एक हजार पाँच सय स्वयंसेवक शिक्षकको माग गर्दै आवेदन खुल्ला गरेकोमा १२ हजारभन्दा बढीले अनलाईन आवेदन फाराम भरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने घोषणा गरेसँगै केन्द्रले सो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आवेदन खुलाएको हो ।

केन्द्रले फाराम भर्ने अन्तिम दिन आइतबारसम्म १२ हजार जनाभन्दा बढीले अनलाइनबाट आवेदन दिएको जानकारी दिएको छ । सरकारले शैक्षिक सत्र २०७७ का लागि वैशाखदेखि चैतसम्म सरकारी विद्यालयमा पढाउन १० दिने सूचना निकालेर आवेदन खुलाएको थियो।

केन्द्रले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकबाट फाराम भर्न सक्ने जानकारी गरेको थियो । शिक्षक संख्या कम भएका सरकारी विद्यालयमा पढाउनका लागि सरकारले अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरूलाई निवेदन दिन आह्वान गरेको हो ।

स्वयमसेवक शिक्षकका लागि शिक्षण अनुमति पत्र ९लाइसेन्स० चाहिँदैन । यी माथिका कुनै पनि विषयमा दक्ष नेपाली नागरिकले फाराम भरेका छन् । निवेदन परेकामध्ये उनीहरूले पेश गरेका कागजपत्र हेरेर शिक्षक छनौट गरिनेछ । शिक्षक छनौट उनीहरूले हासिल गरेको नम्बरलाई आधार मानिनेछ ।

केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले निवेदकमध्ये जसको सर्टिफिकेटमा राम्रो नम्बर छ उसैलाई प्राथमिकता दिइनेछ । थपलियाले भने, ‘निवेदकमध्ये जसको सर्टिफिकेटमा बढी नम्बर छ उ नै छनौट हुनेछ । छनौटमा परेका शिक्षकको नाम स्थानीय तह र विद्यालयमा पढाइनेछ ।’

हाल देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ। स्नातक उत्तीर्ण गरी उक्त स्थानमा स्वंयसेवक शिक्षक भएर सुगम क्षेत्रमा जाने शिक्षकलाई मासिक तलब २४ हजार र दुर्गम क्षेत्रमा पढाउन जानेलाई ३० तलब रहेको छ । स्नातकोत्तर पढेर स्वयंसेवक शिक्षक भएर सुगम क्षेत्रमा जाने शिक्षकको तलब २६ हजार र दुर्गम क्षेत्रमा जाने शिक्षकको तलब ३२ हजार रहेको छ ।

थपलियाका अनुसार चैतभित्र स्थानीय तहमा शिक्षकको विवरण पठाउने काम सकिन्छ । अन्तर्वार्ताबाट शिक्षक छनौट गर्नुपर्ने हो भएपनि संख्या धेरै र समय अभावका रकाण जसको नम्बर धेरै छ त्यहीलाई शिक्षक बनाएर पठाइनेछ । छनौट भएका शिक्षकले विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र उक्त क्षेत्रमा पुग्नुपर्नेछ । यदि उक्त मितिभित्र नपुगेकागे अवस्थामा नियुक्ति स्वतः रद्द हुनेछ ।

थपलियाले शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा नहुने पनि जानकरी दिए । उनले भने, ‘कुनै पनि स्वयंसेवक शिक्षकको सरुवा हुनेछैन । र, अर्को कुरा जागिर छाड्नु परे दुई महिना अगाडि नै जानकारी गराउनुपर्नेछ ।’ स्वयमसेवक शिक्षकलाई तलब विद्यालयले नै खुवाउँने पनि उनले जानकारी दिए । स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्छ ।

Loading...