कोरोना त्रास: भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी

काठमाडौँ, १९ फागुन । सरकारले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको कुरा ध्यानमा राखी नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।

आइतबार मन्त्रिपरिषद् लगतै समिति बैठक बसेको थियो, जहाँ भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्नेबारे छलफल भएको छ । कोरोनाले विश्व नै आक्रान्त बनिरहेका बेला सगरमाथा सम्वाद र भ्रमण वर्ष मनाउनु सान्दर्भिक नहुने निश्कर्ष निकालिएको बताइएको छ । शनिबार नै सरकारले विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।

त्यसैगरी सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ । चीनका साथै जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबारबाटै बाहिरने र भित्रिने हरेक यात्रुको स्वास्थ्य चेकजाँच गर्न थालिएको छ ।

Loading...