१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन

काठमाडौँ, १५ फागुन । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि बढाएको हो । ती प्रहरी बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउने आधारमा उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको आयोगले जनाएको छ । निलम्बनपछि उनीहरूलाई हिरासतमै लिएर अनुसन्धान अघि बढाउने आयोगको तयारी छ ।

अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गर्न अख्तियारले पत्राचार गरेको हो ।प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई पनि निलम्बन गर्न आयोगले पत्राचार गरेको छ ।

उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको छ । प्रहरी कार्यालयबाहिर जान नपाउने गरी उनीहरूलाई गणभित्र राखिएको हो । सीमा प्रहरी कार्यालयमा ३७ जना प्रहरीको दरबन्दी रहेकोमा तस्करीको सुन बरामद भएको दिन ड्युटीमा रहेका सबै प्रहरी मिलेर लिएका हुन् । सो चौकीमा हाल थप प्रहरी पठाइएको छ ।

कसरी बरामद भयो सुन?

गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा ना. ६ ख ४९३२ नम्बरको कन्टेनरमाथि प्रहरीले खानतलासी गर्‍यो । त्यसक्रममा प्रहरीले चालक फुर्वा तामाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गर्‍यो । जुन सुनको बजारमूल्य हाल करिब २८ लाख रुपैयाँ पर्छ । तर, बरामद गरिएको सुन कानुनी प्रक्रियाका लागि राजस्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा ती प्रहरीले आपसमा बाँडफाँट गरी लिएका थिए । चालकलसहित विभागमा बुझाउनुपर्नेमा तामाङलाई छाडिएको थियो । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Loading...