टेलिमकले देशभर फोरजी विस्तार, प्रगति ६० प्रतिशत मात्रै

काठमाडौँ, ७ फागुन । नेपाल टेलिकमले एक वर्षभित्र काम सक्ने गरी अघिल्लो वर्षदेखि फोरजी विस्तार सुरु गरे पनि ६० प्रतिशत मात्रै काम सकिएको छ । टेलिमकले देशभर फोरजी विस्तार गर्ने गरी गत वर्ष पुस २० गते ठेक्का सम्झौता गरेको थियो ।

सम्झौतामा ०७६ फागुन मसान्तसम्म काम सक्ने सर्त तोकिए पनि हाल ६० प्रतिशत मात्रै काम सकिएको छ । ३६४३ वटा टावरमा फोरजी विस्तार गर्नुपर्नेमा करिब २ हजार १०० टावरमा काम भएको टेलिकमका प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संसद्मा दुई वर्षमा सरकारको उपलब्धिबारे जानकारी गराउँदै सबै जिल्लामा फोरजी पुगिसकेको बताएका थिए । तर सबै जिल्लामा पुर्‍याउने नाउँमा सीमित स्थानको टावरमा मात्रै काम सम्पन्न भएको टेलिकम स्रोतले जानकारी दिएको छ । भण्डारीका अनुसार ६४० नयाँ टावर बनाउनुपर्नेछ ।

नयाँ टावर बनाउनेमध्ये २५० टावर खडा भएको बाँकी टावर निर्माणको विभिन्न चरणमा रहेको उनले जानकारी दिए । जिल्लागत हिसाबले ७७ वटै जिल्लामा फोरजी पुगे पनि काम सकिन भने अझै समय लाग्ने उनले बताए । ‘परियोजनाको आकारका हिसाबले यो दुई–तीन वर्ष लाग्ने काम भए पनि गत वर्ष विशेष परिस्थितिमा एक वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको हो,’ भण्डारीले भने, ‘कामको गति एकदमै तीव्र छ, केही महिनामै सबै काम सकिन्छ ।’

काम सुरु गर्ने बेला केही समय सामान आपूर्ति गर्नमा बितेको र सामान आइसकेपछि काम तीव्र भएको उनले बताए । ‘असोजसम्म सामान आइरहेकै थियो,’ उनले भने, ‘चाडपर्व सकिएलगत्तै हामीले दुई हजार टावर बनायौं ।’ टेलिकमले आफ्नो वार्षिकोत्सव माघ २२ गते ७७ वटै जिल्लामा फोरजी पुगेको घोषणा गरेको थियो । सबैभन्दा पछिल्लो पटक हिमाली जिल्ला हुम्लामा फोरजी पुर्‍याइएको थियो ।

हुम्लामा २२ वटा टावरमा फोरजी राखिएको भण्डारीले जानकारी दिए । १९ अर्ब रुपैयाँ खर्चेर टेलिकमले फोरजी विस्तार सुरु गरेको हो । फोरजी विस्तारका लागि रेडियो एक्सेस नेटवर्क र्‍यान को काम हङकङस्थित सीसीएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटीईले पाएको छ । कोर नेटवर्कको काम भने लगभग सकिएको टेलिकमले बताएको छ । परीक्षणका क्रममा टेलिकमले विस्तार गर्न लागेको फोरजीको औसत स्पिड १३० एमबीपीएस देखिएको थियो । फोरजी विस्तारसँगै यससँग जोडिएका अन्य सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

८ सय र १८ सय मेगाहर्ज ब्यान्डलाई एकीकृत गरिने टेलिकमले जनाएको छ, जसका कारण कुनै एउटा ब्यान्ड मात्र सपोर्ट गर्ने मोबाइलमा पनि फोरजी सेवा प्रयोग गर्न सकिनेछ । ०७३ पुस १३ गते टेलिकमले काठमाडौं उपत्यका र पोखराबाट फोरजी र एलटीई सेवाको सुरुवात गरेको थियो । दुई ठाउँमा फोरजी सेवा सुरु गरी परीक्षणपछि अन्यत्र विस्तार गर्ने टेलिकमको योजना लामो समय रोकिएको थियो ।

समयमै फोरजी विस्तार गर्न नसक्दा टेलिकमले उपभोक्ताका साथै आम्दानी पनि गुमाइरहेको छ । पछिल्लो समय टेलिकमको आम्दानी पनि घट्दो अवस्थामा छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक नाफा ४४ प्रतिशत घटेको छ । आव ०७५र७६ मा कम्पनीले ९ अर्ब ७६ करोड नाफा गरेको थियो, जुन त्यसअघिको वर्षभन्दा ७ करोड ७२ अर्ब कम हो ।

डाटा सेवा र स्मार्टफोनको बढ्दो प्रयोगका कारण ओटीटी सर्भिसको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कल कमी हुनु, भ्वाइसको सेवा डाटामा सर्नु, व्यापार प्रवर्द्धनका क्रममा महसुल कटौती गर्नुपर्ने र करको दरमा भएको परिवर्तनका कारण नाफामा कमी देखिएको टेलिकमले जनाएको छ ।

आव ०७५र७६ मा कम्पनीको इन्टरनेटतर्फको ग्राहक वृद्धिदर २६ प्रतिशत भएको छ । तर फोरजीतर्फ भने टेलिकमको ग्राहक वृद्धिदर निकै कम छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिकसम्मको विवरणअनुसार टेलिकमका फोरजी ग्राहक ८ लाख ४० हजार छन् ।

Loading...