दुई जहाज आकाश मै ठोक्किँदा ४ को मृत्यु

एजेन्सी, ०७ फागुन । अष्ट्रेलियाको मेलबर्नमा दुई ट्विन इन्जिन जहाज मध्य आकाश मै ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मेलबर्नबाट १ सय २० किलोमिटर उत्तरको मेङ्गलोरको आकाशमा दुई विमान ठोक्किएका थिए । दुई-दुई यात्रु बोकेका विमानहरु दुर्घटनाग्रस्त हुँदा सवार चार जनाकै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठक्कर खाएसँगै एक विमान तुरुन्तै जमिनमा खसेको थियो भने अर्को विमान केही समय उडेर केही दुरी पार गरेर दुर्घटनाग्रस्त भएको थियो ।

दुई मध्ये एक विमानमा सिकारु पाइलट र प्रशिक्षक सवार रहेको जनाइएको छ । फरक विमानस्थलबाट उडेका विमानहरु किन एकै समयमा एउटै ट्र्याजेक्टरीमा उडेको भन्ने बारे भने अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले बताएको छ । बादलले आकाश ढाकिँदा एक अर्कालाई नदेखेर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ठक्कर खाएका दुई विमानमा निकै ठूलो क्षति पुगेको बताइएको छ । घटनामा मृत्यु हुनेको पहिचान भने खुलिसकेको छैन ।

Loading...