महामारीको रुप लिएको कोरोनाबाट ज्यान गुमाउने १९ सय पुग्यो!

बेइजिङ, ६ फागुन । महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाले ज्यान गुमाएका छन् ।

चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ७४ हजार ४३६ पुगेको छ । कोरोनाका कारण चीन बाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । चीन बाहेक कोरोनाको संक्रमण २६ देशमा फैलिइसकेको छ ।

कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीन भ्रमण गरेर फर्किएका नागरिकलाई कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् । सञ्चार संस्था अल जजिराले सोमबार प्रकाशित गरेको एक प्रतिवेदनअनुसार कोरोनाको प्रकोप रोक्न खटिएका डाक्टर र नर्सले कठिनाइको सामना गरिरहेका छन् ।

गम्भीर अवस्थामा झण्डै आधा बिरामीले ज्यान गुमाउने गरेको पनि समाचार संस्थाले जनाएको छ । त्यसैगरी चीनसँगका सीमा नाकाहरुमा पनि चेकजाँचमा कडाइ गर्नुका साथै आवागमनमा रोक लगाइएको छ । त्यसैगरी नयाँ वर्ष मनाएर बेइजिङ फर्कने नागरिकलाई पनि अनिवार्य दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य संगठनले चीनमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतको स्वास्थ्यमा सुधार आएको छ । ‘८० प्रतिशतभन्दा बढी बिरामी हल्का लक्षण देखिएपछि ठिक हुन्छन् । १४ प्रतिशत निमोनिया जस्तो गम्भीर र जटिल समस्याबाट पीडित हुने गरेका छन् । पाँच प्रतिशत गम्भीर स्थितिमा छन् र दुई प्रतिशत रोगबाट मर्ने गरेको चिनियाँ स्वास्थ्य तथ्याङ्कले देखाउँछ’, विश्व स्वास्थ्य सङ्गठन प्रमुखले भनेका छन् ।

Loading...