प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ज्ञवालीलाई बढुवा गरेको छ ।

 प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।

आईजीपी खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम राखिएको छ। ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए। आईजीपीमा बढुवा गर्नका लागि कोही एआईजी नभएका कारण यसपटक पनि सिधै डीआईजीबाट बढुवा गरिएको हो।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

Loading...