कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति

एजेन्सी
काठमाडौं, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ । चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो ।

अहिलेसम्म ४२ हजार भन्दान बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले पनि महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न र सर्तकता अपनाउन सरकार चुकेको स्वीकार गरिसकेको छ । भाइरसको महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनको विशेष टोलीले चीन पुगेर काम सुरु गरिसकेको छ ।

चीनको वुहान र यसको आसपासमा मात्र एक हजार जनाको मृत्यु भइसकेको छ भने हङकङ र फिलिपिन्समा एक एक जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भाइरसको संक्रमण विश्वका २५ भन्दा बढी देशमा फैलिएको बताइएको छ । अधिकांश देशहरुले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगिसकेका छन् ।

त्यसैगरी भाइरसको महामारी फैलन नदिन चीनको भ्रमण गरेर अन्यत्र जाने पर्यटकलाई विमानस्थाल तथा नाकाहरुमा कडा चेकजाँच गरेर क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको छ भने चीनको भ्रमण नगर्न आफ्ना नागरिकलाई सूचना पनि ती देशले जारी गरिसकेका छन् ।

Loading...