रोजगारीको कोटा बढाउन दक्षिण कोरियासँग श्रममन्त्रीको आग्रह

काठमाडौं, २८ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका छन् ।

भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथा सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न आग्रह गरेका थिए । भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । सो अवसरमा उनले तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि आग्रह गरेका थिए ।

भेटमा राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताएका थिए ।कोरियामा रहेका नेपाली कामदारको आत्महत्यासम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उनले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने बताएका थिए ।

उनले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

Loading...